Deepak

असल आमा बुवाका सफल छोरा छोरी

हामी सैबैले भन्ने र सुन्ने गर्छौ ‘बालबालिका इश्वरका अवतार हुन्’ । वास्तवमै  बालबालिकाको निर्दोष तथा भोलापन, बाल शुलभ क्रियाकलाप गर्दा बालबालिकालाई इश्वरका अवतार भन्न अत्युत्ति हुदैन ।

मैले पहिलो बच्चा हुर्काउदा उ संग गरेको ब्यबहार तथा मैले गर्नुपर्ने उसप्रतिको जिम्मेवारीमा कतै धेरै चुकेको महशुस हुन्छ भने साथसाथै शिक्षाकर्मीको नाताले बिद्यार्थीसंग गरेको व्यबहारले आजभोली आफैलाई आत्मग्लानी हुनुका साथसाथै मैले सिक्नु पर्ने जान्नु पर्ने कुरा समयमै नजान्नाले मेरा कारण अरुले भोग्नु परेको असहज परिस्थिति न त आज म परिपूर्ति गर्न सक्छु न कि आत्मआलोचनाले नै परिपूर्ति हुन्छ । तसर्थ मैले आज सिक्नु र जान्नुपर्ने दायित्व ढिलो मात्र बोध भएमा त्यसले निम्त्याएको परिस्थिति तथा नतिजाको लागि हामी स्वयं जिम्मेवार हौ र हुनुपर्दछ । यदि हामी अभिभावक तथा शिक्षाकर्मीहरुले समयमै आ आपनो तह र तप्काबाट सचेत भएर आफुबाटै सुधारको प्राय गरेर हामीले आफूलाई नियाल्नुको साटो अरुतिर औला तेर्साउन सहज महशुस गर्ने गर्दछौं । जबसम्म प्रत्येक अभिभावकले आत्म समिक्षा सहित आफुलाई समय सापेक्षित रुपमा गतिशिल बनाएर सिकारु, जिज्ञासु बनाएर असल आमा बुवा आमा बन्न सक्दैनन् तबसम्म प्रत्येक घरमा समस्या बढ्छन् भने सफल छोरा छोरी संभव छैन । 

कसरी बन्न सकिन्छ त असल आमाबुवा ?

 सोचमा परिवर्तन ः प्रत्येक मानिसको क्रियाको जननी उसको सोच हो र क्रियाले नतिजा ल्याउने गर्दछ तसर्थ हामीहरुले हाम्रो सोचमा परिवर्तन गरी समय सापेक्षित बनाउनु पर्दछ । सोचमा परिवर्तन ल्याउनाका लागि विभिन्न तत्वहरुको भूमिका रहने गर्दछ । साथी संगत, वातावरण, परिवेश, सिकाई, भोगाई चाहना, विगत र वर्तमानको पढाई सिकाइ, अभिभावकको लागि तय गरिएका सेमिनार वर्कसप, लगायत थुप्रै अन्य बिषयवस्तु छन् जसले हामीहरुलाई पुर्न ताजगी बनाई राख्दछ ।

 बालबालिकालाई बुझ्ने प्रयास गरौं ः प्रत्येक बालबालिका आफैमा सक्षम र युनिक छन् तसर्थ उनीहरुलाई बुझ्नु नितान्त आवश्यक छ । नदीलाई आफ्नै बहाब र बाटोमा बग्न दिनु पर्दछ नत्र त्यसले विकराल प्राकृतिक दुर्घटना निम्त्याउन सक्छ । त्यसैगरी बालबालिकालाई पनि उनीहरुकै इच्छा र चाहनालाई बुझि त्यही अनुसारको सहि मार्गमा डोर्याउनको लागि  उत्प्रेरक, उत्साहवर्दक असल अभिभावक बन्नु पर्दछ । सामान्यतया बालबालिका एकथोक गर्न चाहिरहेका हुन्छन् तर बाबु आमा रोक्ने र आफुले भने अनुसारको गराउन उद्घत भइरहेको पाइन्छ । बालबालिका भान्सामा काम गर्न खोजिराखेका हुन्छन् हामी किताब पढ  अथवा अरुनै काम लगाउने गर्दछौं अनि बालबालिका त्यो काम कसरी गर्दछन् । उनीहरुको मन र तन अर्कैमा हुन्छ । यस्ता थुप्रै उदाहरण छन् प्रत्येक घरघरमा तसर्थ प्रत्येक आमा बुवा बालबालिका मैत्री बन्नु आजको आवश्यकता छ । घरमा बालबालिकाका लागि उपयुक्त हुने शौचालय, बैठक कक्ष लगायत थुप्रै कुरामा बहुशंख्यक  अभिभावकको ध्यान पुगेकै छैन । हामी त यस्तैमा हुर्कियौं यिनिहरुलाई किन हुदैन भन्ने जस्ता भनाई सुन्ने गरिन्छ । यदि हामी यस्तैमा रमायौं  र अघि बढ्यौ भने यसले आत्मरती मात्र निम्त्याउछ ।

 माया र नियम ः बालबालिकालाई सबैभन्दा पहिला चाहिने माया हो जसले उनीहरुमा आत्मविश्वाश, उर्जा , केही न केही गर्ने भावनाको विकास हुने गर्दछ । प्रत्येक बालबालिका उनीहरुले गरेको कामको प्रशंसा र साथ सहयोग चाहन्छन् र उक्त कामलाई फत्ते गर्ने उत्कट चाहना हुने गर्दछ । यदि बालबालिकाले बाबुआमाको साथ र सहयोग पाउनन् भने अघि बढ्न सक्दैनन् । मायाले प्रत्येक बालबालिका भित्र रहेका अर्न्तनिहित प्रतिभा उजागर गर्नेमा कुनै शंका छैन । बामे सर्दै गरेको बालकलाई ताते गर्न, हिड्न सिकाउदा उसलाई आमाबुवाले दिएको ढाडस, विश्वास र प्रोत्साहनले उसले घिस्रिन, हिड्न जानेको होइन र ? बालबालिकालाई आफ्नो बाबुआमा प्रति शतप्रतिसत विश्वास हुने गर्दछ यदि होइन भने भुइबाट माथी फाली समात्दा बाबुनानी कति खुसी हुन्छन्, विश्वास नभएको भए त डराएर रुनु पर्ने होइन र ? तसर्थ आमाबुवा बालबालिकाको हामी प्रतिको विश्वासलाई आत्मसात गरौं र आफुलाई समयमै शासक नभएर आमाबुवा बनौं ।  माया दाहिने खुट्टा हो भने  नियम वाया खुट्टा हो तसर्थ सुरुमा दाहिने खुट्टा चलाएर अघि बढेर वायाँको साथ चाहिए जस्तै बालबालिकालाई पनि माया संगसंगै नियममा पनि बस्ने बानी बसाल्नु पर्दछ । नियममा बसाल्ने बानी बसाल्नका लागि उनीहरुलाई ठिक वेठिक कारण र उदाहरण सहित बुझाउनु पर्दछ । बालबालिकालाई नियम बसाल्ने भनेकै आनी बानी, ब्यबहार, भाषा हो तसर्थ यस्ता कुराहरुमा सजग भएर उनीहरुमा उपयुक्त बानीको विकास गर्नु पर्दछ । डिजिडल उपकरण र पत्रु खानाको सिकार भइरहेका छन् आजभोलीका बाबुनानी तर यसको कारक बाबु आमा होइनन् र ? सानोमा बाबुनानीलाई आफ्नो सजिलोका लागि मोबाइल हामीले दियौं उसले के हेर्यो, के हेर्दैछ ख्याल गरेको भए उनीहरु मोबाइलको कुलतमा फस्ने थिएनन् ? अलि ठूलो भएपछि यस्तो गर, राम्रो रिजल्ट ल्याउ, यति पास गर मोबाइल फोन किनि दिन्छु भनेर कसले भनेको , अवस्य नै अभिभाभकले र संगसंगै सानोमा पत्रु खाना किनेर कसले दिएको, स्वाद त हामीले चखाएको होइन र ? तसर्थ नियममा पहिला अभिभावक बस्नु पर्दछ, त्यसपछि बालबालिका पनि नियममा बस्ने कुरामा कुनै शंका छैन । यदि प्रत्येक घरमा असल आमा बुवाको जन्म हुने हो भने  बिद्यालयले संस्कार सहितको शिक्षा दिन्छु भनी भनिरहनु पर्दैन । संस्कार बाबुआमाको काखबाट  निर्माण भएर परिवार, समाजबाट विकसित हुन्छ न कि बिद्यालयका फेसबुक पेजमा, कक्षाकोभित्तामा  र विद्यालयमा त केही थप र मिश्रित संस्कारको निर्माण गर्ने मात्र हो । बाबुआमाको असल संस्कार नपाएको बालबालिकालाइ संस्कारी बनाउछु भन्नु सस्तो लोकप्रियता बाहेक केही हुनसक्दैन ।

दीपक राज जोशी

शिक्षाकर्मी