Deepak

अहिलेको आवश्यकता संस्कारी राजनीतिज्ञको

दीपक राज जोशी

म कलेजमा अध्ययनरत रहदा एकजना स्ववियु सभापतिले कलेजको १४ लाख हिनामिना गरेर सम्पर्क बिहिन हुनुभयो । म स्वयं उक्त युनियनको सदस्य भएको नाताले मलाई सारै चित्त दुखेको थियो । प्रतिपक्ष विद्यार्थी संगठनको तिखो प्रहार निरन्तर खानु पर्दथ्यो । केही समय पश्चात उहाँलाई भेटेर मैले प्रश्न गरे यस्तो गलत कार्य किन गर्नुभयो भन्दा उहाँले मलाई भन्नु भयो “मेरो स्ववियु चुनावमा लागेको खर्च कसले तिरीदिन्छ ? के मैले घरखेत बेचेर तिर्ने?”

हामी जस्ता धेरै जसो विकास उन्मुख राष्ट्र्रहरुका राजनीतिज्ञहरुको साझा समस्या हो यो । स्ववियु राजनीतिज्ञहरु उत्पादन गर्ने थलोको रुपमा रहदै आएको छ, हरेक राजनीतिक परिवर्तनहरुमा यसले  अपरिहार्य भूमिका खेल्दै आएको छ । तर गणतन्त्र आइसकेको अहिलेको अवस्था स्ववियु लगायत अन्य संगठनको औचित्यता के हो ? राजनीतिक पार्टीहरुको ठुलो कमजोरी र बलियो पक्ष नै सरकारी वेतन लिइ रहेका राष्ट्र सेवक हुन् । राजनीतिक पार्टीहरुलाई यदि सचेतक युवा समुह जसलाई स्ववियुको नाममा र शिक्षक तथा अन्य कर्मचारीतन्त्रलाई आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गर्न दिएनौं भने उनीहरु सर्तक बन्ने थिए र अहिलेको राजनीतिक कुसंस्कार घट्दै जाने थियो । तर बिडम्बना हालका ठुला भनाउदा पार्टीका नेताहरुमा अहंकार, सर्वसत्ताबादको मुख्य कारण उनीहरुलाई के विश्वास छ भने चुनाव जित्नको लागि मेरो संगठनको कर्मचारीतन्त्र छ, प्रहरी प्रशासनको दुरुपयोग गर्न सक्छु, युवा समुहलाई आसै आश देखाएर भजनी मण्डल बनाउन सक्छु । यसको प्रयोग २०४६ साल देखि निरन्तर हुदै आएको छ । कुनै पनि देशमा वास्तविकरुपमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा आमुल परिवर्तनका लागि आम जनताको सहभागिता अपरिहार्य नै हो । जुन ०४६, ०६२।६३ सालको जनआन्दोलनमा हामीहरुले देखेका छौ । स्ववियु, शिक्षक संगठन, कर्मचारी संगठनहरु लगायत अन्य संगठनहरु विसुद्ध रुपमा तत्–तत् क्षेत्रको हकहीतको लागि हुनुपर्नेछ । हामीसंग त्यो अदम्य साहस छ भने आजै भन्न सक्नु पर्दछ म अब पार्टीको कामको लागि  होइन म मेरो पेशालाई मर्यादित बनाउन समय दिने छु र आफ्नो पेशाको हकहीतका लागि मात्र कार्य गर्छु भनि सबैले प्रण गर्ने बेला आएको छ । 

भ्रष्टाचार बाध्यता हो कि रहर?

 प्रश्न यही नेर छ । हाम्रो देशमा चुनाव दिनप्रति दिन भड्किलो र खर्चिलो बन्दै गइरहेको छ । निर्वाचन आयोगले अनावश्यक चुनावी खर्चहरु रोक्न प्रेष विज्ञप्ती निकाल्ने बाहेक केही गर्न सक्दैन र संभावना पनि छैन किनकी सबैजसो सम्बैधानिक आयोगहरुमा राजनीतिक नियुत्तीको दबदवा छ । जब सम्म विधि, प्रक्रिया र विज्ञताको सम्मान हुदैन तबसम्म आशा भरोसा गर्नुपनि निरर्थक हुन्छ । 

म पुनः स्ववियु चुनावको विषयमा केन्द्रित हुन चाहन्छु । के खर्चिलो स्ववियु चुनाव आवश्यक हो ? जहाँ अध्ययनरत विद्यार्थीहरुको कुनै पनि आय श्रोत छैन तर खर्च अत्यधिक छ । उनीहरुसंग भ्रष्टाचार गर्नुको विकल्प नै छैन । बिद्यार्थी जीवन नै असल संस्कारको जग बसाउने थलो पनि होइन र ? भष्ट्राचारी उत्पादन गर्ने कि राजनेता, अब सोच्नु पर्ने बेला आएन र ? हिजो देखि चल्दै आएको राजनीतिक परिपाटी बदल्ने कि ? हामी कार्यकर्ताहरु कति मुर्ख र अन्धभक्त छौ भने कुनै एक पार्टीका प्रमुखहरुले जेट विमानमा दुईवटा पाइलट चाहिन्छ त्यसैले हामी दुई अध्ययक्ष भन्दा ताली पिट्छौ । आजभोली एक अर्काका कार्यकर्तालाई तथानाम गाली गर्छौ । हाम्रा मुख्य दलका प्रमुख नेताहरु एक आपसमा आरोप प्रत्यारोप गर्छौ । आन्दोलन गरी हप्ता दिन सम्म देश ठप्प पार्छौ । एक अर्कालाई विदेशीको दलाल भन्न सम्म पछि पर्दैनौं । यस्ता घटना त कति छन् कति तर हिजो तत् तत् नेताहरुले गरेका गल्तीहरुको आत्माआलोचना गरी आगामी दिनहरुमा यस्तो  हुदैन भन्ने प्रतिबद्धता लिखित तथा मौखिक रुपमा कतै पाएका छौं ? विगतका गल्तीको आत्माआलोचना र संस्कारमा परिवर्तन आउदैन किनकि ५० बर्ष भन्दा माथीका प्रौढ मानिसहरुको आनिबानीलाई परिवर्तन गर्न सकिदैन र उहाँहरु स्वयंले पनि सक्नु हुन्न । हामीहरुले देखेका छौं, भागेका छौं, सबै भन्दा छिटो बालबालिकाहरुलाई परिवर्तन गर्न सकिन्छ किनकि उनीहरु अरुले भनेको सुन्ने तथा मान्ने गर्दछन् । तर जति उमेर  बढ्दै जान्छ अरुले भनेको सुन्ने तथा मान्ने क्षमतामा ह्रास आउदै जान्छ । आफुले आफैलाई परिवर्तन थोरै मानिसहरुले मात्र गरेका हुन्छन् ।

के छ उपाय संस्कार बदल्ने ?

शुरुवात आफैबाट गर्नु पर्दछ । जबसम्म हामीले आफ्नो सोचमा परिवर्तन ल्याउन सक्दैनौं तबसम्म परिवर्तनको कुनै गुञ्जायस हुदैन । तसर्थ हामीहरुले एकपटक सोचौं र आफैले आफैलाई भनौं के म ठिक गरिरहेको छु, आफ्नो ब्रम्हज्ञानले यो ठिक गरिस यो बेठिक गरिस त भन्छ नि , होइन र ? मानव सर्वश्रेष्ठ प्राणी हो किनकि उसको आफ्नो सोच्न सक्ने विवेकशिलता हुन्छ । वास्तविक रुपमा हाम्रो राजनीतिक कुसंस्कारको जिम्मेवार हामी नै हौं किनकि गलत मान्छे/नेतृत्व/काम/निर्णयलाई देवत्वकरण गर्यौ र गरिरहेका छौं । कहिले काही मान्छेलाई आफुले गरेको गल्ती महशुस हुदाहुदै पनि उसका निकटका मान्छेहरुले ठिक गर्नु भयो राम्रो हो भनेर प्रसंशा हुन्छ स्वयं आफैले गल्ती महशुस गर्दागर्दै पनि सहि महशुस हुदोरहेनछ र अहिले वास्तविक रुपमा यहि भईरहेको छ ।

यदि हाम्रो सोचमा परिवर्तन ल्याएनौ भने ?

अहिले अधिकांस नेपालीको पहुचमा मोबाइल छ र कतिपयलाई मोबाइल नभएको भए के हुन्थ्यो जस्तो पनि लाग्छ । सन् २००० देखि २०११ सम्म बजारमा एकाधिकार जस्तै सबैभन्दा बढी बिक्री हुने नोकिया मोबाइल आजका दिन भेट्न पनि गाह्रो छ भने सन् २०११ देखि सामसुङ र सन् २०१९ पछि एप्पल लगायतका मोबाइल कम्पनीले बजारमा राज गरिरहेका छन् । यसको एउटै कारण समय अनुसार सोचमा परिवर्तन आएन भने कसैले पनि सधैंभरी आफ्नो आधिपत्य जमाउन सक्दैनन् र संभव नै छैन किनकि अबको पिढी हरेक कुरामा नविनता चाहन्छ । हालका राजनीतिक पार्टीहरुको सबैभन्दा ठुलो शक्ति भनेको उनीहरुको नेटवर्किङ हो । हरेक क्षेत्रमा बिधि बिधान र पद्धती भत्काएर लम्पट कार्यकर्ताहरु बनाइएका छन् । तर एकदिन सचेत नेपालीहरु जाग्नेछन् र ती परिवर्तन हुन नखोज्ने नेताहरु नोकिया मोबाइल बन्ने छन् । पुरातन सोच भएका मानिसहरुले विष्णु भगवानको अवतार ठान्ने २४० बर्ष इतिहास बोकेको शासन प्रणालीको अन्त्य हामी नेपालीहरुले नै गरेका हौं । तर तत् पश्चात पनि हामी नेपालीहरुको सुखी र सम्पन्न बन्ने आशामा कुनै नयाँ किरण आएन ।

कसरी आउछ त नयाँ किरण ?

पानी पनि फिल्टर नगरी खायौ भने पखाला लाग्छ भने हामीले हाम्रो नीति, नियम, पद्धति, संस्कार, सम्पन्नता बनाउने माओनीतिमा कसलाई नेतृत्व दिई राखेका छौं  र कहिले सम्म दिने हो एकपटक हामी सबैले सोच्नै पर्दछ । कोरोना महामारीका बीचमा हामीले केलाउन सक्दछौ, कुन नेतृत्वले के गर्यो, कसरी गर्यो र के भयो भनेर ! कहिले काँही हामी मान्छेको जात अति इमोसनल पनि हुन्छौ । केही बण्डल मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डर हाम्रो टोल छिमेकमा विभिन्न पार्टीका नेताहरुले बाडेको फोटो सामाजीक सञ्जालमा राखेको देखिन्छ । हामी सायद खुसी भयौ र उहाँहरु प्रति अनुग्रहित पनि भयौ होला तर वास्तविकता हामीहरुलाई जहिले पनि भिखारी, निमुखा बनाउन खोजेको होइन र ? यदि उहाँहरुले देशमा पद्दति निर्माण गरिदिएको भए हामीहरुले कसैसंग भिख माग्नु पर्ने थियो र पक्कै पनि पर्ने थिएन । समाजका केही यस्ता व्यक्तित्वहरु हुनुहुन्छ जसले स्वार्थरहित ढंगले आफ्नो आय आर्जनबाट  हामीहरुलाई सहयोग गरिरहनुभएको छ उहाँहरुले गर्ने पनि त्यही हो किनकि उहाँहरु नेतृत्वमा हुनुहुन्न ।

मिडियाको भूमिका

चुनावको बेला संचारका माध्यमहरुले ‘हेवी वेट’ नेतासंग अरु उम्मेदवार पनि भनेर समाचार सम्प्रेषण गर्ने गर्दछन् अर्थात मुलधारका संचार माध्यमहरुले लामो समय देखि चुनाव जितीरहेका, चिरपरिचित तर देश र जनताका लागि केही पनि गर्न नसकेका उल्टै गलत कदम चाल्नेहरुलाई चुनाव उसैले जित्नु पर्दछ किनकि उहाँ पुरानो, फलानो हो, कसैको छोरा छोरी हो भनेर भन्ने गर्दछौ । उहाँहरुले जित्नु  भएन भने आकाशै खस्छ भने जसरी अप्रत्यक्ष ढंगले समाचार संम्प्रेषण गरीरखेका छौ । जसले मिसन पत्रकारिता गर्दछ उसलाई त मेरो केही भन्नु पनि छैन किनकि उहाँहरुको रोजी रोटी नै भिख मागेर खाने हो । यदि मुलधारका संचारका माध्यमहरुले गहिराईमा गएर प्रत्येक चुनावी प्रतिस्पर्धीको हिजो  आजको अवस्था र उसको कागजी प्रतिवद्धता पत्र भन्दा वास्तविक जीवनको यर्थाथ चित्रण गर्ने,  नेतृत्वमा बसेर देशलाई सही मार्गमा लैजान सक्ने मान्छेलाई अब जनताले हेर्न पर्दछ भन्ने ढंगले समाचार सप्रेषण भयो भने परिवर्तन आउन धेरै समय लाग्दैन । 

एकजना युवा नेताको कोरोनाबाट देहावशान भए पश्चात मुलधारका संचार माध्यमहरुले उहाँप्रति देखाएको सम्मानभावको प्रशंसा गर्नुपर्दछ तर उहाँको त्यस्तो सादगी जीवन शैली, नविनतम राजनीतिक विचारको बारेमा हिजोको दिनमा किन यसरी समाचारहरु प्रेषित भएन त ? आम जनतालाई सुचना पाउने अधिकारबाट किन बञ्न्चित गरियो त । के कसैको बारेमा राम्रो कुरा थाहा पाउन उ मर्नु नै पर्ने हो त ?

जसको पेसा नै राजनीति हो । त्यो नै समाजको लागि सबैभन्दा घातक हुन्छन. । किनकी उसको अभिष्ट नै के हुन्छ भने राजनीति कमाउने र जीवन भरका लागि अर्थोपार्जन गर्ने ठाँउ हो, नकि आम जनताको सपना साकार पार्ने ।

युवाहरुको सहभागिता र भूमिका

देशको धेरै युवाहरु मध्ये कसैलाई विदेसिने मोह छ भने धेरै युवाहरुलाई बाध्यता पनि छ । देशमा स्थिर राजनीति भईदिए, देश विकास भईदिए हुन्थ्यो, आफ्नै देशमा केही न केही गर्न सकिन्छ भन्ने भावना धेरै युवाहरुको छ । अहिलेको राजनीतिक लगायतका अवस्थाहरुले गर्दा अधिकांश युवाहरुमा निराशा छाएको छ भने केही युवाहरु कुबाटो तिर समेत लागेका छन् । देशमा वेरोजगार युवाहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । युवाहरुले हाल भइराखेको अराजकता, वेथितिमा चासो राखेर राजनीतिमा थोरै पनि आ–आफ्नो तह र तप्काबाट हस्तक्षेपकारी भूमिका खेल्न सक्यौ भने हामीले हाम्रो देश बनाउन धेरै समय लाग्दैन । अठार देखि पैतालिस बर्ष उमेर समुहले चाहेमा हरेक परिवारमा उथल पुथल आँउछ । अब सोच्ने, गर्ने र देश बनाउने पालो हामी युवाहरुको हो । अब पनि जागरुक नहुने हो भने सबै युवाहरुको सपना सपना नै हुनेछ ।