Deepak

एस.ई.ई.(SEE) पश्चात कुन विषय र कस्तो +2  छान्ने

दीपक राज जोशी

शिक्षाकमी

यति बेला एस.ई.ई दिइसकेका विद्यार्थी र अभिभावकहरुलाई कक्षा ११ मा कुन विषय पढ्ने र पढाउने भन्ने निर्क्योल गर्न सकस परिरहेको छ । अर्कोतिर देशभरी कक्षा १२ सम्म संचालनमा रहेका ४१०५ विद्यालय मध्ये कुन  बिद्यालयमा भर्ना गर्ने भन्नेमा अभिभावकहरु दुविधामा हुनुहुन्छ । दुविधा हुनु पनि स्वभाविकै हो किनकि निजि स्तरमा संचालनमा रहेका बिद्यालयहरुले गर्ने विज्ञापन, सुबिधा तथा गुणस्तरीयता देखि भवन देखाउने होडबाजी चलिरहेको छ ।

काठमाण्डौमा सञ्चालित एक बिद्यालयले कक्षा ११ मा छात्रवृत्ति दिएर थोरै शुल्कमा पढाउने प्रतिबद्धतासाथ भर्ना गरेको विद्यार्थीको कक्षा १२ उत्तीर्ण गरिसक्दाको अनुभव तितो छ किनकि कक्षा १२ मा छात्रवृत्ति दिन सक्दिन भनेर थुप्रै शिर्षकमा पैसा असुल गरेर लुटेको भोगाई छ । गत बर्ष लकडाउन पछि कक्षा १२ को बोर्ड परिक्षाको प्रवेश पत्र लिन जाँदा सोचे भन्दा धेरै शुल्क आएकोमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेको घटना त एक प्रतिबिम्ब मात्र हो । कक्षा ११ मा भर्ना गर्दा विद्यार्थी र अभिभावकको सबै पिर मर्का बुझेर सहयोग गरे जस्तो गर्ने तर एक बर्ष पछि बेग्लै ब्यबहार गर्नेको यहाँ विगविगी नै छ । तसर्थ समयमै सही निर्णय लिन सकिएन भने पछि पछुताउने बाहेक अरु बिकल्प केहि छैन । 

विषय छनौट कसरी गर्ने त?

सर्वप्रथम हरेक विद्यार्थी तथा अभिभावकहरुले प्रयाप्त मात्रामा सुचना संकलन गर्नु पर्दछ । सूचना संकलन गर्दा बजारमा कुन बिषयको स्कोप तथा समयसापेक्षित छ कि छैन राम्रोसंग केलाउनका लागि प्रयाप्त तथ्य तथा तथ्याङक संकलन गर्नुपर्दछ, जसले निर्णय गर्न सजिलो हुन्छ । संगसंगै सम्बन्धित क्षेत्रका जानकारहरुसंग छलफल परामर्श गर्नुपर्छ ।

महत्वपूर्ण कुरा विद्यार्थीको रुची के मा छ र भविष्यमा कुन क्षेत्रमा कार्य गर्ने इच्छा छ त्यसलाई केलाउनु पर्दछ । धेरैजसो अभिभावकहरुले आफूले गर्न नसकेका तर चाहेको क्षेत्र आफ्ना सन्तानले पढिदिउन, पुरा गरिदिउन भन्ने लाग्दछ र त्यही अनुसार विषय छान्न प्रेरित गर्ने वा दवाव दिने गर्नुहुन्छ । यस्तो गर्नु सरासर गलत हो । हरेक बालबालिकाका फरक फरक क्षमता र इच्छा हुन्छ तसर्थ उनीहरुमा हाम्रो इच्छा, चाहना लाद्नु हुदैन । यदि दबाबमा प्रतिफल खोज्यौं भने प्रतिफल सकारात्मक आउन सक्दैन ।

हाल विद्यालयहरुमा संचालनमा रहेका हरेक बिषयको आफ्नै क्षेत्र र परिवेश छ । कुनै पनि बिषय राम्रो र नराम्रो भन्ने हुदैन, मात्र विद्यार्थी कुन बिषयमा उत्कृष्ट बन्न सक्दछ र जसले उसको भविष्य निर्माण गर्दछ, त्यही बिषय उसको लागि उपयुक्त हो । कुनै पनि बिषय छनौटले मात्र भविष्य राम्रो बनाउनेृ होइन, भविष्य उज्वल बनाउन त उक्त बिषयमा उत्कृष्ट तथा अब्बल बन्न सक्नुपर्छ । कतिपय विद्यार्थी र अभिभावकहरुलाई हाल संचालनमा रहेका सम्पूर्ण बिषयहरुको बारेमा जानकारी नहुदा निर्णय सहि नहुन सक्दछ तसर्थ हतार नगरी सम्पुर्ण बिषयको जानकारी लिएर मात्र अगाडी बढ्नु पर्दछ । आजभोली सूचना संकलन गर्न त्यति गाह्रो पनि छैन ।

 कसरी छनौट गर्ने त वश्वसनीय र गुणस्तरीय विद्यालय(+२)

प्रतिस्पर्धात्मक समाजमा हरेक क्षेत्रमा प्रतिस्पर्धा भइनै राखेको छ जसबाट निजि क्षेत्रका शैक्षिक संस्थाहरु अछुतो रहन सक्दैनन् । भर्नाको समयमा मुलतः कक्षा ११ मा आफ्नो बिद्यालयमा तान्नका लागि जुनसुकै हत्कण्डा अपनाउन पनि पछि पर्दैनन्, केही बिद्यालयहरु सायद उनीहरुलाई आफुले दिएको शैक्षिक गुणस्तरमा आफैमाथी विश्वास नभएर नै होला । तसर्थ बिद्यार्थी तथा अभिभावकले सस्तो लोकप्रिय नारामा लोभिएर शिक्षा जस्तो भविष्य निर्माण गर्ने कुरामा खेलबाड नगरौं । १०० % छात्रवृत्ति दिने देखि ठुला ठुला व्यापारिक भवन, लिफ्ट देखि थुप्रै सेलिब्रेटीको आडमा कक्षा ११ मा भर्ना गर्न त ती बिद्यालयहरु सफल हुन्छन् तर बिचरा अभिभावक कक्षा १२ मा गईसके पश्चात बिभिन्न बहानामा लिने शुल्कले गर्दा पिडित हुन्छन् भने बिद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउदैनन् । उल्टो डिआई (डिसिपिलिनरी इर्न्चाज) ले दिने मानसिक तथा शारीरिक तनावबाट गुर्जिनु पर्दछ ।

१. प्रत्येक विद्यार्थी र अभिभाबकले छनोट गर्न चाहेको विद्यालयको कम्तीमा पछिल्लो  ३ देखि ५ बर्षको शैक्षिक अवस्था र उक्त संस्थाको प्रत्येक बर्षको नतिजाको लेखाजोखा गर्न नितान्त आवश्यक छ ।

२. भर्ना गर्नु भन्दा अगाडी बिद्यालयका संचालक शैक्षिक क्षेत्रमा आवद्ध शिक्षाकर्मी हुन् वा होइनन् भन्ने कुराको ख्याल गर्नु पर्दछ । राजनितीक संरक्षण पाएका शैक्षिक माफिया अथवा शिक्षाको मर्म र भाव नबुझेका संचालक छन् भने होसियार रहनु पर्दछ ।

३. बिद्यालय संचालन गर्ने तौर तरिका कस्तो छ । डीआइका नाममा बाउन्सर राखेर बिद्यार्थीहरुलाई तर्साएर मानसिक तथा शारीरिक तनावमा राखेर भयभित वातावरणमा संचालित छ कि? बिद्यालयमा निरन्तर रुपमा काउन्सीलिङ, मोटिभेसन तथा बिद्यार्थीहरुको साथी बनेर आफु संगसंगै बिद्यार्थीहरुलाई पढ्ने पढाउने शिक्षकको समुह छ कि छैन त्यो पनि विचार पुर्याउनु पर्दछ ।

४. बिद्यालयमा पढाउने काम मात्र हुन्छ कि सिकाउने काम पनि गरिन्छ जानकारी राख्नुपर्दछ । अर्थात कक्षा १२ उर्त्तीण गरिसकेपछि बजारमा आफुलाई प्रतिस्पर्धी बनाउन सक्ने, आत्मनिर्भर र एक असल नागरिक बनाउने  वातावरण सिर्जना गरी पठन पाठनलाई अगाडी बढाइएको छ कि छैन त्यो पनि हेक्का राख्नु पर्दछ ।

५. प्रत्येक बिद्यार्थीलाई इन्डीभिजुयल केयर छ कि छैन भन्ने बिषय उक्त बिद्यालयबाट पढिसकेका बिद्यार्थीहरुबाट जानकारी लिनु राम्रो हुन्छ । आफैमा अब्बल र गड गिफ्टेड बिद्यार्थी पढाएर राम्रो नतिजा ल्याउने बिद्यालयको पछि लाग्नु हुदैन किनकि बिद्यालयको लागि तपाईको नानी बाबु हजारौं मध्ये एक हो तर तपाइका लागि उ सबथोक हो तसर्थ बजारको होडबाजी र भिडभाडको पछि लाग्नु हुदैन ।

६. बिद्यालय छनोट गर्दा झुटा आश्वासनको पछि कहिले नलाग्नुहोस् । सबैकुरा तथ्य र तथ्यांकमा खोज्ने गरौं । प्राप्त सुचनालाई भेरिफाई तथा रिभेरिफाई गरौं ।

७. कक्षा ९ देखि १२ सम्मको शिक्षालाई माध्यमीक  बिद्यालयको शिक्षाको रुपममा रुपान्तरण भईसकेको अवस्थामा यदि आवश्यक पूर्वाधार र सक्षम जनशक्ति छ भने कक्षा १२ सम्म सम्बन्धित बिद्यालयमा नै कक्षा १२ सम्म पढ्न उपयुक्त हुन्छ । अबको माध्यमिक शिक्षामा कम्तीमा कक्षा १ देखि ८ सम्म र ९ देखि १२ सम्म एउटै बिद्यालयमा पढ्दा  बिद्यार्थीहरुको लागि सहज वातावरण हुन्छ ।

८. आवश्यक पूर्वाधार र सक्षम जनशक्ति सहितको समयसापेक्षित रिजनेवल शुल्कमा पढाउने बिद्यालय छनौट गर्नुपर्दछ । न कि गगन चुम्बी भवन, लिफ्ट लगायतका पढाइसंग सरोकार नभएका पूर्वाधारसंग झुक्किएर अनावश्यक शुल्कको भारमा पर्नु हुदैन ।

९.बिद्यार्थी भाइबहिनीहरुले फलानो कलेजको युनिफर्म मलाई मन पर्छ त्यसैले त्यही बिद्यालयमा पढ्छु भन्ने पनि यदा कदा सुनिनमा आउछ । यसरी कलेज छान्नेहरु उक्त कलेज छाडेर पछि अर्को शैक्षिकसंस्थामा अध्ययन गर्न पुगेको पनि देख्ने गरिन्छ । तर्सथ बिद्यार्थी भाइबहिनीहरुले साथीहरुको लहलहैमा लागेर केही बुझ्दै नबुझी बिद्यालय छनोट गर्नु उपयुक्त हुदैन ।