Deepak

कसरी हुर्काउने त बालबालिकालाई ?

हामी बुबाआमालाई बालबालिका अगाडि सबथोक आँउछ भन्ने बनाउनु परिरहेको छ तर भित्र भित्रै हामी आडम्बर, भ्रम, डर र त्रासको बाटो समातेर बालबालिकालाई आफ्नो नियन्त्रणमा राखी हुर्काउने काम कतै गरिरहेका त छैनौं ? यदि बालबालिकाको मानसिक विकासको लागि अभिभावकले दिनुपर्ने मार्ग दिन नसकेमा असन्तुलित भोजनबाट हुने कुपोषणबाट पिडित हुने बालबालिका भन्दा पनि ठुलो मानसिक दुष्चक्रमा फस्छन् । जसको प्रतिफल हाम्रो कल्पना भन्दा बढी अपत्यारिलो दुर्घटना हुन सक्छ । बालबालिकाहरुको बानी ब्यबहारबाट आजित भएर बुवाआमाहरु आफु भित्रको निराशा विभिन्न ढंगले विभिन्न मान्छेहरुमा पोख्ने गरिरहेका हुन्छन् । के बालबालिकाहरुको आत्मसम्मानमा चोट पुग्ने गरी उनीहरुको बारेमा छिमेकी, बिद्यालय, नातेदारसंग भन्दा उनीहरुको बानी ब्यहोरा सच्चीयला त? हो प्रबिधिको विकास, समयको गतिशिलता, शहरीकरण, विश्वव्यापीकरण संगसंगै बालबालिकाको हुर्काइ पनि जटिल बन्दै गइरहेको छ । तर हामी बुबाआमा हामीलाई हिजो जसरी हुर्काइएको थियो त्यही तरिका र शैली प्रयोग गरिरहेका छौं तर आफ्ना दुःखलाई लुकाएर पनि राम्रो सेवा, सुबिधा, जीवनशैली दिने प्रयास गरिरहेका छौं । माया चिप्स, कुरकुरे, कोक, फेन्टामा खोजिरहेका छौ यानिकि बाबुनानीले जे माग्यो त्यही पुर्याईदिने गरिरहेका छौं । जसको प्रतिफल उनीहरुको मनोबल सही भन्दा गलत कुरामा बढी केन्द्रित भइरहेको छ किनकि उसलाई थाहा छैन कि सही र गलत के हो । अभिभावकले उसलाई सही र गलतको कुरा नबुझाई केबल रोक्न खोज्छौं । मानविय स्वभाव क्षणिक आनन्दमा बढी रमाउने हुन्छ किनकि दिर्घकालिन आनन्दको लागि त्याग, तपस्या र थुप्रै समस्याको चिरफार गरी अगाडि बढ्नु पर्दछ । बालबालिकाको यसमा के दोष, उनीहरु क्षणिक र तात्कालिन विषयमा रमाउनु स्वभाविक हो । समय र परिस्थिति अनुसार हस्तक्षेप र उपयुक्त वातावरण तय गरी वास्तविक माया गर्ने बुबा आमा बन्न सक्नु पर्दछ, जसले गर्दा बालबालिकाले गलत बाटोमा हिड्ने कुरा सोच्न पनि नसकुन तसर्थ सम्पूर्ण बुवाआमाले समयसापेक्षित रुपमा आफुलाई अपडेट गरी सकारात्मक सोच बालबालिकामा रोप्न सकियो भने भोलिका दिन सोच अनुसारको फल प्राप्ती हुन्छ ।  सफल र खुसी अभिभावक  बन्न समान्य तीनवटा बिषयमा ख्याल गर्ने कि ? 

पाँच बर्ष भित्रका बालबालिकासंगको ब्यबहार ः

बालबालिकाको जन्मिने वित्तिकै को पहिलो रुवाई पश्चात बुबाआमाले बुझ्नु पर्ने हुन्छ कि उ स्वस्थ तथा ठिक छ बाँकी कसरी हुर्काउने बुबा आमाको हातमा छ । बालबालिकाको मस्तिष्कले गर्भाअवस्थामा त बुझिरहेको हुन्छ भने जन्म पश्चात हरेक बिषय बस्तुलाई नजिकबाट आफ्नै ढंगले मस्तिष्कमा विजारोपण गरिरहेका हुन्छन् । तसर्थ डक्टर नवराज के.सीको पुस्तक ‘शुन्यको मुल्य’ अनुसार विद्यालय, विश्व विद्यालय भन्दा आमाको गर्भ र काखमा हुने विकास बालबालिकालाई कैयौं गुणा ठूलो हो । सबै भन्दा बढी लगानी गर्भ अवस्थामा र पाँचबर्ष भित्रमा गर्दा त्यसको प्रतिफल सोचे भन्दा बढी हुन्छ । कस्तो स्वभावको मान्छे बनाउने वा बन्ने बालबालिकाको यतिखेरको हुर्काइबाट निर्धारण हुन्छ । डा. के. सी.का अनुसार एउटा आमाको गर्भले आफुभित्र हुर्किदै गरेको नयाँ जीवन निर्माण गर्दा एक सेकेन्डमा दिमागका आठ हजार नयाँ कोशिका बनाउने गर्दछ । यसबाट के प्रष्ट बुझिन्छ कि बालबालिकाको दिमाग पाँच बर्ष भित्र कस्तो बन्ने तय भइसकेको हुन्छ । पाँच बर्षको उमेर भित्र उनीहरुको मस्तिष्कमा न्युरोन र साइनाप्सहरुको तिव्र विकास भई रहेको हुन्छ तर हामीहरु बालबालिकालाई केही पनि थाहा छैन, सानै त छ  भन्ने भ्रममा हुन्छौं । तसर्थ पाँचवर्षसम्म बालबालिकालाई असल बातावरण र भरपुर समय दिएर हुर्काउनु पर्दछ । यो सामान्य बुझाई हो बोटबिरुवालाई पनि सानोमा सबैभन्दा बढी गोडमेल गर्दैनौं र ? अनि बालबालिकालाई खेलौना दिएर, खाना खुवाएर मात्र पुग्छ त? गोडमेल गर्ने बेलामा राम्रोसंग गोडमेल गरेनौं भने पछि राम्रो फल फलेन भन्ने गुनासो गर्नुको के औचित्य छ र ? बालबालिकाका लागि सुरुको पाँच बर्ष सबैभन्दा महत्वपूर्ण समय हो तर सामान्यतया प्रबिधिको विकास संगसंगै डिजिटल उपकरणहरु बलबालिकाको हातमा दिएर खाना खुवाउने तथा उनीहरुलाई त्यसमा व्यस्त बनाएर हामीहरु हाम्रो  जीवनलाई क्षणिकरुपमा सजिलो बनाइ रहेका छौं । एकछिन गाँउले परिवेशलाई नियालेर हेरौं त बच्चालाई खाना खुवाउने तरिकाः बालबालिकालाई एक ठाँउबाट अर्को ठाँउसम्म कुदेर जाने गर्दथे खुसी भएर बुवाआमासंग खेलेर खानाको स्वाद लिएर खाने गर्दथे । आजभोली खानाको स्वाद लिनु त परको कुरा हो उसले के खायो भन्ने सम्म पनि बालबालिकालाई थाहा हुदैन । तसर्थ बुबा आमाले ठुलाठुला सपनाका लागि व्यस्त भएर उनीहरुकै भविष्यको लागि व्यस्त भएको भन्ने जस्ता भ्रमबाट बेलैमा बाहिर निस्कन सकेनौं भने बालबालिकाहरु कि त राम्रा बन्दैनन् कि त हाम्रा रहदैनन् तर त्यतिबेला हाम्रो चेत खुल्छ तर ढिला भइसकेको हुन्छ ।

१३ बर्षसम्म

बालबालिकाका लागि मनको कुरा बुझ्ने साथी, सहयोगी, प्रेरणाको स्रोत, वास्तविकरुपमा उसलाई आइपर्ने समस्याको समाधानकर्ता हुन् बुवाआमा । बालबालिकाले बुवाआमासंग यतिबेला साना साना कुरामा प्रशंसा तथा मायाको अपेक्षा गरेका हुन्छन् । अपेक्षा पुरा हुदा उनीहरु भित्र आत्मबल बढ्छ र सबथोक गर्न सक्दछु भन्ने दरिलो विश्वाश जाग्दछ । वास्तविक रुपमा विभिन्न सिपहरुको विकास गर्ने बेला हो यो, जसले गर्दा उनीहरुले आफ्नो भविष्यलाई सुन्दर बनाउन सक्दछन् । तसर्थ आमाबुवाले बालबालिकाको मनोभावना बुझ्ने र त्यही अनुसार उनीहरुको परिपक्व साथी बनेर सही र गलत छुट्टाएर उचित मार्गमा हिड्नका लागि प्रेरक बन्न सकेमा असल छोरा छोरी हुर्किन्छन् । प्रत्येक घरघरमा यतिबेला बालबालिकालाई सबै कुराको जानकारी गराउनु पर्दछ, बाटाहरु देखाउनु पर्दछ, जसबाट उनीहरुमा सबैकुराको जानकारी ग्रहण गरी सही बाटो पहिल्याउने क्षमता बढ्छ र कुनै न कुनै क्षेत्रमा लाग्ने इच्छा जाग्दछ  र त्यही अनुसारको उपर्युक्त मार्ग हामीहरुले तय गरिदिएमा उनीहरु कुनै न कुनै क्षेत्रमा अब्बल हुनेमा विश्वस्त हुन सकिन्छ ।

१८ बर्षसम्म

यौवन अवस्थामा थुप्रै परिवर्तन एकैचोटी आउने तथा पढाई र करियर बनाउनको लागि आधार तयार गर्न उनीहरुलाई दबाब पर्ने समय हो । यतिबेला उनीहरु बुवा आमा भन्दा बढी  साथीहरुसंग रमाउने, आफ्ना कुरा सुनाउने–सुन्ने गर्दछन् । तसर्थ बुवाआमाले नजिकबाट उनीहरुका क्रियाकलाप नियाल्नुका साथै बेला बेलामा उनीहरुका साथी सर्कलसंग भेटघाट गर्ने तथा सबैका बारेमा जानकारी राख्नु पर्दछ जसबाट उनीहरुले अबलम्बन गरेको बाटोको बारेमा बेलैमा पहिचान गरी आवश्यक परामर्श दिनुपर्दछ । यतिबेलाको समयमा बुवाआमा बालबालिकाका लागि सहि अर्थमा मनोपरामर्शदाता, प्रेरक वक्ता, प्रेरणाका स्रोत, आदश व्यक्तित्व, माया प्रेम अभिभावक हुन् । यो समय बालबालिकाका लागि एकदमै अस्थिर समय हो उनीहरु जतिबेला जतातिर पनि हिड्न सक्दछन् तसर्थ यतिबेला सम्म बालबालिकाले गरेका गैरकानुनी कार्य पनि बालबालिकाको अवचेतन अवस्थाले गरेको मानी छुट दिइन्छ । यदि यो समयसम्म बालबालिकाको गोडमेल बुवाआमाले सहि तरिकाले गर्न सकेमा कुनै पनि परिवारमा बुवाआमाका लागि बालबालिका बोझ नभई खुसीका आधार तथा अमुल्य सम्पत्तिका स्रोत हुनसक्छन् ।

दीपक राज जोशी

शिक्षाकर्मी