Deepak

बा आमा बन्न सक्यौ र ?

छोरा छोरी जन्माएपछि अधिकाँश बा–आमा बन्यौं भन्ने लाग्दछ तर उनीहरुको वास्तविकता बालबालिका प्रतिको उनीहरुको ब्यबहार तथा सोचले छर्लङ पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालन पोषण, असल संस्कार र राम्रो शिक्षा दिक्षाले मात्र असल बाबु आमा बन्न सकिन्छ । बाबु आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्‍याउनु पर्छ । बिद्यालयको बैठक तथा परिक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाहरुको गुनासो राख्ने अभिभावकको संख्या उल्लेखनिय हुने गर्दछ । विचरा शिक्षक शिक्षिकाहरु दिनमा ४० देखि ४५ मिनेट उनीहरुका बाबालिकाहरुसंग समय बेतित गर्ने गर्दछन् । त्यसमा पनि ३० देखि ४० जना बिद्यार्थी कक्षा कोठामा हुदा लगभग १ मिनेट समय पनि एकजना बिद्यार्थीलाई दिन गाह्रो छ । त्यहि समय भित्र पढाउनु पर्ने लगायतका अरु कार्य गर्नुपर्दछ । तर उनीहरुसंग अभिभावकको आशा अपेक्षाको चाङ कति धेरै छ । प्राय जसो आजभोली प्रत्येक जसो घरमा १ देखि २ जना बालबालिका हुने गर्दछन् । २ जना बालबालिकाको बानी व्यहोरा र आचरण सुर्धान नसक्ने बा आमाले शिक्षक शिक्षिकालाई जादुगर भनि ठानी राखेका हुन् कि आफुलाई बाआमा बनाउन नसकेका हुन् । प्रश्न आज घर घरमा उठ्नु पर्दछ , उत्तर खोज्नु पर्दछ । बा आमाले छोराछोरीको माया लागेर होकी उनीहरुको बालहठ सम्हाल्न नसकेर बालबालिकाका लागि व्यक्तिगत फोन किनेर छुट्टै कोठाको व्यबस्था गरिदिएका हुन्छन् । अनि बिद्यालयमा मेरो बाबुनानीलाई मोबाइलको लतबाट छुटाइदिनु पर्यो , मोबाइलमा गेममात्र खल्दछ लगायतका नानाभती कुरा शिक्षकहरुसँग गरिरहेको पाइन्छ । मोबाइल किनी दिनले त्यसको सहि प्रयोग गर्न सिकाउन सक्दैन भने किन किनिदिएको त मोबाइल ? आजभोलीका बा–आमा यति निरिह किन बनिरहेका छन् त आफ्ना छोराछोरीका अगाडि? शिक्षकलाई बालबालिकाका सबै अवगुण/पुलिन्दा लगाउने तर मैले भनेको नभनिदिनु । म बिद्यालयमा आएको उसलाई थाहा नहोस् थाहा पायो भने त घर छोडि दिन्छ, मरिदिन्छ भन्छ भन्ने लगायतका साह्रै निरिह अनुनय विनयका कथनहरु सुन्ने गरिन्छ ।

के गरौं त वास्तिविक रुपमा बा आमा बन्न ?

१. सोचमा परिवर्तन ः कुनै पनि बालबालिका आफैमा खराब आचरण लिएर आएको हुदैन तसर्थ बालबालिका निस्वार्थी मायाको संसार हो र उसलाई जसरी हामी हुर्काउछौं त्यर्स्त बन्दछ भन्ने मानसिकताबाट बा–आमा निर्देशित हुनु पर्दछ । जन्मेको बेला उसले के लिएर आएको  हुन्छ र ? सिर्फ मानव अस्तित्व, त्यसमा सबैथोक त हामीले भरेका होइनौ र तसर्थ हामीले हिजो के के भरेका थियौ राम्रो नराम्रो त्यो सबैको जिम्मेवारी लिएर राम्रोलाई गोडमेल गरौं भन्ने नराम्रा बानी ब्यहोराबाट छुटाउनका लागि हामी सिकौं, जानौं र व्यबहारमा उतारेर सुधार्ने प्रयास गरौं । प्रत्येक बालबालिकाको स्वभाव फरक हुन्छ । तसर्थ अरुले दिएको उपाय अधुरो र अपुर्ण हुने गर्दछ । पूर्णताको लागि स्वयम बा–आमाले विभिन्न प्रयास तथा प्रयत्न गर्नु पर्दछ जबसम्म सहि आचरण र बानी ब्यहोराको विकास हुदैन । बिर्गान केही गर्नु पर्दैन एकथान मोबाइल किनिदिए पुग्छ तर सर्पान अथक मेहनत लाग्दछ जुन बा आमालाई पनि गर्न झिजो लाग्दछ र साह्रा दुनियासंग गुनासाका पोका लिएर सुनाउदै हिड्ने गर्दछौं ।

२. सानैमा ख्याल पुराउने ः बच्चा जन्मीनु भन्दा अगाडी आमा र जन्मे पश्चात बालबालिकासंग गर्ने व्यबहार महत्वपूर्ण हुने गर्दछ । बालबालिका आफु भन्दा ठुलाको त्यसमा पनि बाआमाको हरेक कुरालाई ख्याल गरीराखेका हुन्छन् र त्यही सिक्ने गर्दछन् । तर हामीहरुलाई सानोमा बालबालिकाहरुले केही सिक्दैनन्, जान्दैनन् र उनीहरुको ब्यबहारलाई जस्तोसुकै भए पनि सहर्ष स्वीकारेर रमाइरहेका हुन्छौ जुन दिर्घकालिन रुपमा घातक बन्ने गर्दछ । मानसिक रुपमा बालबालिकाहरुको सम्पूर्ण न्युरोनहरुको विकास ३ देखि ५ बर्ष भित्र भइसकेको हुन्छ । बा–आमाका लागि यो सबैभन्दा उपयुक्त उपाय र सहि समय हो , बालबालिकाको सहि आचरण र बानी ब्यहोरा विकास गर्ने तसर्थ बा–आमा बन्नु भन्दा पहिला कम्तीमा बा–आमा बन्नका लागि पूर्वतयारी गर्नुपर्दछ । आफ्ना बाइलोजिकल इच्छा संगसंगै वास्तविक रुपमा बा आमा बन्न सक्नुपर्दछ । आफ्ना बाइलोजिकल इच्छा पुरा गरेर बा–आमा बन्नु भनेको वालबालिका प्रतिको अन्याय त हो नै आफैप्रतिको टिठ लाग्दो जीवन पनि हो ।

३. ठिक बेठिक छुट्याउन सक्ने क्षमताको विकास गर्ने ः बालबालिकालाई ठिक बेठिक के हो  र केही पनि त थाहै हुदैन सबैकुरा हामीले सिकाएर अथवा हामीहरुलाई देखेर सिकेका हुन् तसर्थ बालबालिकामा सानैमा जे रोप्यौ त्यहि पछि फल्ने भएका कारण सानोमा के के रोप्ने पल पलमा ख्याल गर्नु पर्दछ । ठिक र बेठिक बा–आमाको उनीहरुप्रतिको ब्यबहार, बोली, जीवनशैली, क्रियाकलाप तथा उनीहरुले देख्ने दृष्य, ठाँउ परिवेशले निर्धारण गरिरहेको हुन्छ, साथसाथै बालबालिकाको साथी को छ, को संग कति समय वेतित गर्दछ त्यसले उनीहरुको व्यबहारको निर्माण भइरहेको हुन्छ । बालबालिकामा सानैदेखि ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न सक्ने आत्मविश्वास जगाउनु पर्दछ । उनीहरुको आत्मविश्वासले उनीहरुको जीवनलाई सही मार्गमा डोर्याउन सक्ने हतियार बन्न सकोस जसले गर्दा उनीहरु आफ्नो जिम्मेवारीबाट विचलित नबनुन् ।

४. पूर्व प्राथमिक विद्यालयको छनौट ः पहिलो पाठशालाबाट दोस्रोमा पठाउदै गर्दा बिद्यालयमा पढाउने भन्दा बालबालिकासंग गर्ने ब्यबहार र उनीहरुलाई हुर्काउने वातावरणको बारेमा बुझ्नु नितान्त आवश्यक छ । सानो परिवेशबाट ठुलो परिवेश, फरक ठाँउमा बालबालिकालाई पढाउदै गर्दा उसले के सिक्दैछ, कस्तो आचरण गर्दैछ बा–आमाले नजिकबाट नियाल्नु पर्दछ । पूर्व प्राथमिक बिद्यालय बालबालिकाका लागि पढ्ने वातावरण तय गर्ने ब्रीज मात्र हुन तसर्थ बिद्यालयमा सामान्य पढ्ने लेख्ने कार्य गराएर क्रियाकलाप गराउनमा केन्द्रित छ कि छैन जानकारी राख्नु पर्दछ । सकेसम्म पूर्व प्राथमिक र माध्यमिक बिद्यालय एउटै प्राङगणमा संचालनमा छ भने बालबालिकाहरुले सिक्ने सिकाउनेमा प्रक्रियामा बाधा पुग्दछ । तसर्थ अलग्गै संचालित विद्यालयमा पढाउनु बेस हुन्छ ।