Deepak

सिकाई प्रक्रियामा दण्ड सजाय किन?

मानसिक तथा शारिरीक रुपमा कुनै पनि किसिमको दण्ड सजाय बालबालिकाहरुलाई दिन पाइदैन र यदि दिएको पाएमा रु ७५ हजार जरिवाना र ३ बर्ष सम्म जेल हुन सक्ने हाम्रो कानुनी व्यबस्था छ । के हाम्रा विद्यालयहरुमा यसको जानकारी आम शिक्षाकर्मीहरुमा छ त ? के चेतना भएर पनि सजाय दिनु पर्ने बाध्यता छ ? वास्तविकता के हो त ? दण्ड सजाय विना सिकाउन सकिदैन त ? के हामी शिक्षाकर्मीहरु दण्ड सजाय विना सिकाउन सक्दैनौं ? सिकाई प्रक्रियासंग दण्ड सजायको कुनै साइनो छ त? यि यावत प्रश्नहरु हामी माझ उब्जने गर्दछन् ।

गुरुकुल शिक्षा प्रणालीमा ऋषी, महर्षीहरुले निःशुल्क रुपमा आफ्नै आश्रममा  बालबालिकाहरुलाई प्रेम, माया र सद्भावकासाथ शिक्षा दिने तथा काममा लगाउने गर्दथे भन्ने कुरा हामीले सुन्दै आएका छौं । तत्कालिन समयमा बिद्यार्थीहरु बढी अनुशासित, लगनशिल तथा संस्कारयुक्त हुने गर्दथे । आजभोली अनुशासन र संस्कार सहितको शिक्षा भन्ने कुरा बोलीमा, प्रचारमा, होडिङ बोर्डमा, विज्ञापनमा बढी देखिन्छ तर वास्तविक जिवन/ब्यबहारमा कम हुदै गइरहेको अनुभव भइरहेको छ ।

शिक्षा सर्टिफिकेट हो कि ? वास्तविक जिवनको ब्यबहार, जीवनशैली, भाषा, आचरण हो ? सर्टिफिकेट लाइसेन्स मात्र हो तर गाडी चलाउन सिप चाहिन्छ । तसर्थ जीवनलाई सफलतापूर्वक चलाउन र सार्थक  तुल्याइ जीवन जीउनको लागि असल ब्यबहार, जीवन जीउने सिप तथा आचरणको विकास हुन नितान्त आवश्यक छ । बालबालिकाहरुलाई भयरहित वातावरण सिर्जना गरेर मात्र उनीहरुलाई सिकाउन सम्भव छ । तर मिडियामा बेला बेलामा बिद्यालयहरुमा बालबालिकाहरुलाई अंगभंग हुनेगरी कुट्ने, ट्वाइलेटमा थुन्ने लगायतका विभिन्न तरिकाले मानसिक तथा शारिरीक रुपमा सजाय दिने क्रम निरन्तर रुपमा चलिरहेको कुरा देख्न र सुन्न पाइन्छ । के दण्ड सजाय बिना पढाउन सिकाउन सकिदैन त? पढाइ त सम्भव होला तर सिकाइ सम्भव छैन । सिकाई प्रेममा, सद्भावमा, स्नेहमा मात्र संभव छ । सुन्ने सुनाउने प्रक्रियामा भय त्रास सिर्जना गर्न सकिन्छ तर सिकाउनको लागि बिद्यार्थीको मन र मस्तिष्कको गहिरो लगाव चाहिन्छ तसर्थ त्यसको लागि तनाव रहित वातावरण आवश्यक हुन्छ ।

हाम्रो सिकाई प्रक्रियामा कहाँ समस्या छ त ?

१.घरपरिवार भित्र नै बालमैत्री वातावरण आवश्यक छ ः हाम्रो समाजमा बुबा आमा तथा घरका अग्रजहरुले बालबालिकासंग कस्तो ब्यबहार गर्ने गर्दछौं । जन्मेको २, ३ बर्ष सम्म बालबालिकाहरुले अभिभावकबाट अत्याधिक प्रेम र स्नेह पाएका हुन्छन् तर समयक्रम संगसंगै गल्ती कमीकमजोरीलाई आत्मसाथ गरी सच्चाउनका लागि उत्प्रेरित गर्नुको साटो तर्साउने कुट्ने, पिट्ने गर्ने गर्दछौं । बालबालिकाहरुलाई हेपेर बोल्ने, थर्काउने, डर–त्रास सिर्जना गरी काबुमा राख्ने अधिकांश घर परिवारमा भइरहेकैे छ । किनकी हाम्रो हिजोको सिकाइ नै यस्तो भयो र हामी अग्रजहरुले समय सापेक्षित रुपमा परिस्कृत गर्न सकेका छैनौं । तसर्थ अधिकाँश हामी अभिभावकसंग भएको एउटै विकल्प थर्काउने, त्रास सिर्जना गर्नु हो जसले क्षणिक रुपमा भए पनि समस्या समाधान भए जस्तो लाग्दछ । यसको प्रभाव प्रत्यक्ष परोक्ष रुपमा बिद्यालयमा पर्ने नै हुन्छ किनकि शिक्षक समाजकै अंग हो । बिद्यार्थीको बानी, आचरण पनि त्यसरी नै विकास भइराखेको हुन्छ । तसर्थ प्रत्येक घरपरिवारबाट दण्ड सजायको अन्त हुनुपर्दछ र त्यसका लागि अभिभावकहरुलाई विद्यालयले पनि सचेत गराउनु पर्दछ ।

२. हामीहरुमा धैर्यताको कमी छ ः

हामी बुवाआमा, शिक्षाकर्मी लगायत अग्रजहरुले सिकाई प्रक्रिया लामो समयसम्म जान्छ, गल्तिबाट नै सिकिन्छ र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ तर हिजोका दिनमा म स्वयं आफैले यसरी नै सिकेको हो भन्ने कुरा हामीहरु बिर्सिसकेका छौं । बालमनोविज्ञान र उनीहरुको सिक्न सक्ने क्षमताको ज्ञान हामी शिक्षक र अभिभावकमा नहुन सक्छ । दिगो सिकाइका लागि मन र मस्तिष्कको सामुहिक प्रयास चाहिन्छ भन्ने कुरामा हेक्का गर्दैनौ; केवल मस्तिष्कलाई नियन्त्रण गर्ने गर्दछौं तर मनले स्वीकार गरेकै हुदैन । सबै बालबालिकाको सिक्न सक्ने क्षमता एकनास हुदैन र आ–आफ्नो पृष्ठभूमि अनुसार उसको अनुशासन, क्रियाकलाप र बानी ब्यबहार फरक हुन्छ । कसैलाई सिक्न लामो समय लाग्न सक्छ । लामो यात्रा गर्न कठिनाई हुन्छ तर यात्रालाइ गन्तव्यमा पुराए पछिको सफलताको परिमाण दुरगामी हुन्छ । क्षणिक रुपमा गरिने डर, त्रासले निरन्तर रुपमा दिने र पाउने दुवैलाई सधैंभरी तनावको वातावरणमा मात्र बाँच्न बाध्य बनाउदछ । तसर्थ हामी अभिभावक तथा शिक्षक धैर्यवान बनि समझदारीपूर्वक आफ्ना बालबालिका सहि दिसा निर्देश गर्न सक्नु नै बुद्धिमानी ठहर्छ । बालबालिकाबाट भएका गल्ति तथा कमीकमजोरीलाई प्रेमपूर्ण तरिकाले बोध गराएर सच्चाउदै दिगो रुपमा अनुगमन, अवलोकन, पुनर्लोकण गर्दै अघि बढ्न सकेमा विद्यार्थीमा असल बानीको विकास हुन्छ । सामान्यतया २१ दिनसम्म निरन्तर रुपमा कुनै बानी दोहोराइ रहेमा उक्त विषयवस्तुमा बानीको विकास गर्न सकिन्छ । तर निरन्तर आत्मबकोध, खवरदारी र अनुगमनको नितान्त आवश्यकता पर्दछ ।

३. कक्षाकोठाको शिक्षण प्रक्रियामा विविधताः

 सामान्यतया हाम्रो विद्यालयहरुमा एउटा विषयको लागि दिनमा ४० देखि ६० मिनेट सम्मको कक्षा घण्टीको व्यबस्थापन गरिएको पाइन्छ । तर हामी शिक्षाकर्मीहरुले कक्षामा जानु भन्दा पहिला कत्तिको तयारी गरेका हुन्छौं ? विषय वस्तुमा कत्तिको दख्खल गरेका हुन्छौं ? निरन्तर रुपमा २० देखि ३० मिनेट भन्दा बढी कुनै पनि बालबालिका अरुलाई सुन्न सक्दैनन् भने निरन्तर रुपमा ४० देखि ५० मिनट सम्म एकोहोरो रुपमा पढाउने बानीले कक्षाको वातावरण कस्तो होला ? तसर्थ एउटा कक्षा घण्टीमा कम्तीमा ३ देखि ४ वटा सम्म फरक फरक गतिविधिले मात्र बिद्यार्थीहरुको ध्यानाकर्षण गर्न सकिन्छ र सिकाईमा प्रभावकारिता आउने गर्दछ र तत् पश्चात दण्ड सजाय दिनुपर्ने अवस्था रहदैन । जब बालबालिकामा इच्छा जागृत हुन्छ तब उनीहरुले सबैकुरा ध्यान दिएर तन मनले नै ग्रहण गर्दछन् । 

३. अनपेक्षित अपेक्षा गर्नु हुदैनः

प्रत्येक बालबालिकामा फरक फरक क्षमता तथा इच्छा हुने गर्दछ तसर्थ उनीहरुको फरक क्षमता र इच्छालाई हामीहरुले सम्मान गर्न सक्नुपर्दछ । हामी प्रत्येक बालबालिका उस्तै र एकनासको भइदियोस् भन्ने अभिभावकको चाहना हुन्छ र त्यसको प्रत्यक्ष परोक्ष असर शिक्षाकर्मीहरुमा पर्ने गर्दछ । जसका कारण बालबालिकासंग अनपेक्षित आशा रहने गर्दछ र फलतः बालबालिका दवावमा पर्ने, दण्ड सजायको भागी बनाइने गरिन्छ । किताबी ज्ञान जीवनको एउटा पाटो मात्र हो तसर्थ यसलाई  नै सर्वाङीण बनाएर अनावश्यक दबाव सिर्जना गर्ने काम बन्द गर्नुपर्दछ । प्रामाणपत्र प्राप्तीका लागि मात्र सबैलाई एउटै बास्केटमा राख्नु पर्ने हुन्छ अन्यथा आवश्यक छैन । शिक्षण सिकाई तथा हाम्रो मूल्याँकन प्रणालीमा केहि सकारात्मक संकेत छन् तर सर्वाङीण रुपमा मूल्यांकन प्रणाली ३ घण्टाको परिक्षाले मात्र न्याय दिन सकेको अवस्था चाँहि होइन ।

४. आफ्नो कमि कमजोरीको विकल्प हो दण्ड सजायः

हामी अभिभावक तथा शिक्षाकर्मी आफुलाई सक्षम बनाउन सकेका छैनौं भने त्यसको सिकार बालबालिका हुने गर्दछन् । बिद्यार्थीहरुले गृहकार्य गरेनन्, बदमासी गरे, भनेको मानेनन्, झगडा गरे लगायतका थुप्रै कारणबाट बिद्यार्थीहरु दण्ड सजायको भागी हुने गर्दछन् । वास्तवमा उनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारी बोध गराएर जिम्मेवारी बहन गराउन नसक्नु हाम्रो कमजोरी हो । बालबालिकालाई काउन्सीलिङ, मोटिभेटगर्नुको सट्टा हामीहरु कुट्ने, पिट्ने बाटो तिर लम्कीरहेका छन् । जसको प्रतिफल क्षणिक त्रसित वातावरण सिर्जना गराउनु हो । दिर्घकालिन रुपमा बालबालिका मानसिक तथा शारिरीक रुपमा अपाङ बन्ने संभावना हुने गर्दछ । त्यसको लागि शिक्षक तथा अभिभाकहरुमा चाहिने सिप, कला, क्षमता विकास गर्नु आवश्यक छ ।

अर्कोतिर हामीहरु हाम्रो व्यक्तिगत, पारिवारिक, पेशागत व्यवस्थापनमा चुकेका हुन सक्छौं । जसले गर्दा हामी स्वयंमा निहित तनाव र विवेक शुन्यताका कारण बालबालिका माथि जाइलागेर आफ्नो कमिकमजोरी ढाकछोप गर्नका लागि हामी रिसाहापना देखाउने गर्दछौं । जुन बानी हामी सबैले आत्मसाथ गरी सच्याउनु पर्दछ ।

५. बालबालिकामा सहि संस्कार रोपौःं

जन्मजात कुनै बालबालिका बदमास वा खराब आचरणका हुदैनन् । तसर्थ उनीहरु कस्तो वातावरणमा हुर्किय, कस्तो भाषा, आचरण घरपरिवारले सिकायो त्यहि सिक्ने हुन् तसर्थ बालबालिकाहरुमा समस्या छन् भने समस्याको पहिचान गरी समाधान गर्नका लागि तयारी गर्नुपर्दछ । आजभोली पनि केहि अभिभावकहरु बिद्यालयमा आएर मेरो बाबु नानी बदमास भयो गाली गरिदिनु, एक दुई चडकन लगाइदिनु भन्ने पनि छन् । यस्तो अवस्थामा अभिभावकलाई जबसम्म परिवर्तन गर्न सकिदैन बालबालिकालाई सुर्धान सकिदैन । प्रेमपूर्ण वातावरण सहितको अनुशासित वातावरणमा हुर्काएका बालबालिकालाई कसैले पनि पिट्नु पर्दैन तसर्थ समस्याको वास्तविकरुपमा दिर्घकालिन रुपमा समाधान खोज्ने हो । प्रत्येक घरका बुबाआमाले आफुलाई समय सापेक्षित रुपमा परिवर्तन गरी संस्कार सहितको असल आचरण रोप्न सकेमा धेरै समस्याको समाधान हुने गर्दछ ।

दीपक राज जोशी

        शिक्षाकर्मी