1) सोचमा परिवर्तन
प्रत्येक मानिसको क्रियाको जननी उसको सोच हो र क्रियाले नतिजा ल्याउने गर्दछ तसर्थ हामीहरुले हाम्रो सोचमा परिवर्तन गरी समय सापेक्षित बनाउनु पर्दछ । सोचमा परिवर्तन ल्याउनाका लागि विभिन्न तत्वहरुको भूमिका रहने गर्दछ । साथी संगत, वातावरण, परिवेश, सिकाई, भोगाई चाहना, विगत र वर्तमानको पढाई सिकाइ, अभिभावकको लागि तय गरिएका सेमिनार वर्कसप, लगायत थुप्रै अन्य बिषयवस्तु छन् जसले हामीहरुलाई पुर्न ताजगी बनाई राख्दछ ।
2) बालबालिकालाई बुझ्ने प्रयास गरौं
प्रत्येक बालबालिका आफैमा सक्षम र युनिक छन् तसर्थ उनीहरुलाई बुझ्नु नितान्त आवश्यक छ । नदीलाई आफ्नै बहाब र बाटोमा बग्न दिनु पर्दछ नत्र त्यसले विकराल प्राकृतिक दुर्घटना निम्त्याउन सक्छ । त्यसैगरी बालबालिकालाई पनि उनीहरुकै इच्छा र चाहनालाई बुझि त्यही अनुसारको सहि मार्गमा डोर्याउनको लागि उत्प्रेरक, उत्साहवर्दक असल अभिभावक बन्नु पर्दछ । सामान्यतया बालबालिका एकथोक गर्न चाहिरहेका हुन्छन् तर बाबु आमा रोक्ने र आफुले भने अनुसारको गराउन उद्घत भइरहेको पाइन्छ । बालबालिका भान्सामा काम गर्न खोजिराखेका हुन्छन् हामी किताब पढ अथवा अरुनै काम लगाउने गर्दछौं अनि बालबालिका त्यो काम कसरी गर्दछन् । उनीहरुको मन र तन अर्कैमा हुन्छ । यस्ता थुप्रै उदाहरण छन् प्रत्येक घरघरमा तसर्थ प्रत्येक आमा बुवा बालबालिका मैत्री बन्नु आजको आवश्यकता छ । घरमा बालबालिकाका लागि उपयुक्त हुने शौचालय, बैठक कक्ष लगायत थुप्रै कुरामा बहुशंख्यक अभिभावकको ध्यान पुगेकै छैन । हामी त यस्तैमा हुर्कियौं यिनिहरुलाई किन हुदैन भन्ने जस्ता भनाई सुन्ने गरिन्छ । यदि हामी यस्तैमा रमायौं र अघि बढ्यौ भने यसले आत्मरती मात्र निम्त्याउछ ।
3) माया र नियम
बालबालिकालाई सबैभन्दा पहिला चाहिने माया हो जसले उनीहरुमा आत्मविश्वाश, उर्जा , केही न केही गर्ने भावनाको विकास हुने गर्दछ । प्रत्येक बालबालिका उनीहरुले गरेको कामको प्रशंसा र साथ सहयोग चाहन्छन् र उक्त कामलाई फत्ते गर्ने उत्कट चाहना हुने गर्दछ । यदि बालबालिकाले बाबुआमाको साथ र सहयोग पाउनन् भने अघि बढ्न सक्दैनन् । मायाले प्रत्येक बालबालिका भित्र रहेका अर्न्तनिहित प्रतिभा उजागर गर्नेमा कुनै शंका छैन । बामे सर्दै गरेको बालकलाई ताते गर्न, हिड्न सिकाउदा उसलाई आमाबुवाले दिएको ढाडस, विश्वास र प्रोत्साहनले उसले घिस्रिन, हिड्न जानेको होइन र ? बालबालिकालाई आफ्नो बाबुआमा प्रति शतप्रतिसत विश्वास हुने गर्दछ यदि होइन भने भुइबाट माथी फाली समात्दा बाबुनानी कति खुसी हुन्छन्, विश्वास नभएको भए त डराएर रुनु पर्ने होइन र ? तसर्थ आमाबुवा बालबालिकाको हामी प्रतिको विश्वासलाई आत्मसात गरौं र आफुलाई समयमै शासक नभएर आमाबुवा बनौं । माया दाहिने खुट्टा हो भने नियम वाया खुट्टा हो तसर्थ सुरुमा दाहिने खुट्टा चलाएर अघि बढेर वायाँको साथ चाहिए जस्तै बालबालिकालाई पनि माया संगसंगै नियममा पनि बस्ने बानी बसाल्नु पर्दछ । नियममा बसाल्ने बानी बसाल्नका लागि उनीहरुलाई ठिक वेठिक कारण र उदाहरण सहित बुझाउनु पर्दछ । बालबालिकालाई नियम बसाल्ने भनेकै आनी बानी, ब्यबहार, भाषा हो तसर्थ यस्ता कुराहरुमा सजग भएर उनीहरुमा उपयुक्त बानीको विकास गर्नु पर्दछ । डिजिडल उपकरण र पत्रु खानाको सिकार भइरहेका छन् आजभोलीका बाबुनानी तर यसको कारक बाबु आमा होइनन् र ? सानोमा बाबुनानीलाई आफ्नो सजिलोका लागि मोबाइल हामीले दियौं उसले के हेर्यो, के हेर्दैछ ख्याल गरेको भए उनीहरु मोबाइलको कुलतमा फस्ने थिएनन् ? अलि ठूलो भएपछि यस्तो गर, राम्रो रिजल्ट ल्याउ, यति पास गर मोबाइल फोन किनि दिन्छु भनेर कसले भनेको , अवस्य नै अभिभाभकले र संगसंगै सानोमा पत्रु खाना किनेर कसले दिएको, स्वाद त हामीले चखाएको होइन र ? तसर्थ नियममा पहिला अभिभावक बस्नु पर्दछ, त्यसपछि बालबालिका पनि नियममा बस्ने कुरामा कुनै शंका छैन । यदि प्रत्येक घरमा असल आमा बुवाको जन्म हुने हो भने बिद्यालयले संस्कार सहितको शिक्षा दिन्छु भनी भनिरहनु पर्दैन । संस्कार बाबुआमाको काखबाट निर्माण भएर परिवार, समाजबाट विकसित हुन्छ न कि बिद्यालयका फेसबुक पेजमा, कक्षाकोभित्तामा र विद्यालयमा त केही थप र मिश्रित संस्कारको निर्माण गर्ने मात्र हो । बाबुआमाको असल संस्कार नपाएको बालबालिकालाइ संस्कारी बनाउछु भन्नु सस्तो लोकप्रियता बाहेक केही हुनसक्दैन ।