पठन संस्कृतिको — बहुआयामिक फाइदाहरू 

पठन संस्कृतिको — बहुआयामिक फाइदाहरू 

किताबले जोड्ने ज्ञान, चेतना र सभ्यताको यात्रा


दीपक राज जोशी 

शिक्षाकर्मी तथा विकासका लागि पठन संस्कृति अभियन्ता


“पढ्ने मानिसले मर्ने बेलासम्म हजारौं जीवन बाँचिसकेको हुन्छ। कहिल्यै नपढ्ने मानिसले केवल एक जीवन मात्र बाँच्छ।” 

— जर्ज आर.आर. मार्टिन 

मानव सभ्यताको विकासलाई प्रायः ठूला सडक, गगनचुम्बी भवन र भौतिक पूर्वाधार निर्माणको दृष्टिले मात्र हेर्ने गरिन्छ। तर वास्तविक विकासका लागि समाजमा चेतना, बौद्धिकता र पठन संस्कृतिको विकास अपरिहार्य हुन्छ। भौतिक समृद्धिले मात्र कुनै पनि समाजलाई सभ्य र सुसंस्कृत बनाउन सक्दैन; मानवीय चेतनाको उत्थानका लागि पुस्तकहरू नै सबैभन्दा ठूला माध्यम हुन्। जब हाम्रा ज्ञानेन्द्रियहरू पुस्तकसँग एकसाथ जोडिन्छन्, तब पढाइ केवल सूचना सङ्कलन मात्र नरहेर एक पूर्ण जीवन-अनुभव बन्न पुग्छ। आँखाले शब्द हेर्दा, कानले ध्वनि सुन्दा, मुखले उच्चारण गर्दा र मस्तिष्कले त्यसलाई अर्थ, ज्ञान तथा कल्पनामा रूपान्तरण गर्दा चेतनाको एक अद्भुत यात्रा सुरु हुन्छ। पढाइदेखि समाज रूपान्तरणसम्मको यो यात्राले दिमाग, कल्पनाशीलता, समानुभूति र समालोचनात्मक सोचको विकास गर्दै अन्ततः एक राम्रो समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।


मस्तिष्कदेखि दीर्घायुसम्म 

वैज्ञानिक अनुसन्धानहरूले पठन संस्कृतिको गहिरो मानसिक र शारीरिक फाइदाहरूलाई प्रमाणित गरेका छन्। गहिरो र केन्द्रित भएर पढ्दा स्ट्यान्फोर्ड विश्वविद्यालयको अनुसन्धानले देखाएअनुसार मस्तिष्कका जटिल स्नायु प्रणालीहरू सक्रिय हुन्छन्। विशेष गरी नेपाली (देवनागरी लिपि) पढ्दा बालबालिकाको मस्तिष्कको विकास तीव्र रूपमा हुन्छ किनभने देवनागरी एक ध्वन्यात्मक लिपि हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ। दुई फरक संरचना भएका लिपिहरू पढ्दा मस्तिष्कमा ‘कग्निटिभ फ्लेक्सिबिलिटी’ अर्थात् संज्ञानात्मक लचकता बढ्छ, जसले गर्दा बालबालिकाको समस्या समाधान गर्ने क्षमता उच्च हुन्छ। यसबाहेक, दिमागलाई अध्ययनमार्फत निरन्तर सक्रिय राख्दा मानसिक क्षमता क्षय हुन पाउँदैन, जसले अल्जाइमर र डिमेन्सिया जस्ता गम्भीर रोगहरूको जोखिम न्यूनीकरण गर्दछ। 


डिजिटल लत र पठनको विकल्प 

डोपामाइन व्यवस्थापन 

आजको डिजिटल युगमा मोबाइल वा सामाजिक सञ्जालको अत्यधिक प्रयोग ठूलो चुनौती बनेको छ। मोबाइल चलाउँदा मस्तिष्कमा छोटो समयमै ‘डोपामाइन’ अर्थात् खुसी र आनन्द महसुस गराउने हर्मोन रिलिज हुन्छ, जसले बारम्बार मोबाइल हेरिरहनुपर्ने लत बसाउँछ। यसको विपरीत, पुस्तक पढ्दा डोपामाइनको बहाव ढिला तर स्थायी रूपमा हुन्छ। यसले मस्तिष्कलाई तुरुन्तै हुने उत्तेजनाबाट टाढा राखेर गहिरो एकाग्रता र संयमको बानी बसाल्न अभिप्रेरित गर्दछ।


पठन संस्कृति र महान् व्यक्तित्वहरूको दृष्टान्त 

नेपाली इतिहास र विश्व मञ्चका महान् स्रष्टा तथा नेताहरूको जीवन पठन संस्कृतिको गहिरो प्रभावबाट अछुतो छैन: 

  • महाकवि लक्ष्मीप्रसाद देवकोटा — असाधारण पठन साधना भएका स्रष्टा। 
  • बपी कोइराला — नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री — गहन विश्व साहित्यको अध्ययनले राजनीतिक दृष्टिकोणलाई परिपक्व र दार्शनिक बनायो। 
  • मदन भण्डारी — ‘जनताको बहुदलीय जनवाद’ का प्रवर्तक — गहिरो अध्ययन र अद्वितीय तार्किक क्षमता भएका नेता। 
  • डा. सत्यमोहन जोशी — वाङ्मय शताब्दी पुरुष — विशाल अध्ययन र अनुसन्धानका आधारमा तीन पटक मदन पुरस्कार प्राप्त गरे। 
  • ओशो — निजी पुस्तकालय ‘लाओत्सु लाइब्रेरी’ मा डेढ लाखसम्म दुर्लभ पुस्तकहरूको संग्रह। 
  • इलन मस्क — बाल्यकालमा दिनको १० घण्टा पढेर ९ वर्षकै उमेरमा ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ सिध्याए र किताब पढेरै रकेट-निर्माण प्रविधि सिके।

पठन संस्कृतिको विकास 

व्यावहारिक रणनीतिहरू र उमेर समूहअनुसार छनौट 

पठन संस्कृतिको विकास गर्न जीवनशैलीमा साना तर प्रभावकारी बदलाव ल्याउन सकिन्छ। दिनको १०–१५ पृष्ठ वा १५ मिनेट पढेर सुरुवात गर्न सकिन्छ किनभने लक्ष्य पृष्ठसंख्या होइन, निरन्तरता हो। घर वा कार्यालयमा शान्त कुनामा किताब, उज्यालो र आरामदायी सिट राखेर साना ‘पठन क्षेत्र’ बनाउनुका साथै अडियोबुक वा ई-बुकको प्रयोग गरेर पठन-मैत्री वातावरण तयार पार्न सकिन्छ। 


वडा तहदेखि समुदायसम्म 

पठन सञ्जालको निर्माण 

“जहाँ मानिस बस्छन्, त्यहाँ किताब पुगोस्; जहाँ किताब पुग्छ, त्यहाँ पढ्ने बानी बसोस्।” 

पठन संस्कृतिलाई घर, टोल, विद्यालय, वडा, समुदाय हुँदै महानगरसम्म जोडिएको साझा पठन सञ्जालको रूपमा विस्तार गर्न सकिन्छ। वार्ड नेतृत्वले हरेक वडामा कम्तीमा एक व्यवस्थित पुस्तकालय स्थापना गर्ने, पठन साझेदारी बढाउने, वार्षिक पुस्तक मेला आयोजना गर्ने र पठन स्वयंसेवकहरू परिचालन गर्ने संकल्प लिनुपर्छ।


परीक्षा पास गर्ने माध्यम होइन, चेतना र सभ्यता निर्माण गर्ने शक्ति हो। 

“पुस्तकालय बनाउने मात्र होइन, पाठक बनाउने; पाठक बनाउने मात्र होइन, पठन संस्कार बसाल्ने; र अन्ततः ज्ञानमा आधारित समुदाय निर्माण गर्ने” 

उद्देश्यसहित हामीले “पढ्ने वडा, ज्ञानवान् समाज” को परिकल्पनालाई साकार पार्नुपर्छ।


यसका लागि व्यक्ति, परिवार, कार्यस्थल र समुदाय सबैले मिलेर पठनलाई आफ्नो जीवनशैलीको अभिन्न अङ्ग बनाउनु आजको आवश्यकता हो।